जग्गा ट्रायलको काम गरिदिने भन्दै नापी सर्वेक्षकले मागे दुई लाख, एक लाख लिँदै गर्दा पक्राउ


२०८३ भदौ ३१ बुधबार ०८:०४ बजे
फाइल फोटो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका एक सर्वेक्षकलाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी कार्यालय बर्दिबासमा कार्यरत सर्वेक्षक शिवकुमार साह रहेका छन्।

अख्तियारका अनुसार साहले जग्गा ट्रायलसम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागेको सूचना प्राप्त भएपछि आयोगको बर्दिबास कार्यालयले निगरानी थालेको थियो। निगरानीका क्रममा सेवाग्राही र साहबीच घुस रकमको पहिलो किस्ताबापत एक लाख रुपैयाँ बुझाउने सहमति भएको खुलेको आयोगले जनाएको छ।

सोही रकम बुझ्दै गरेको अवस्थामा साहलाई मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालयअगाडिको एक खाजा घरबाट नियन्त्रणमा लिइएको अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। उनका अनुसार साहलाई नियन्त्रणमा लिएपछि घटनास्थलमै मुचुल्का तयार पारिएको थियो। आयोगले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ। अख्तियारले साहविरुद्ध घुस लेनदेनसम्बन्धी घटनामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७