दुई गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त, आयोगले निकाल्यो सूचना
काठमाडौं : निर्वाचन आयोगले निर्वाचित हुँदाको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित राजनीतिक दलबाट प्राप्त निर्णय र कागजातका आधारमा दल त्याग गरेको देखिएका जनप्रतिनिधिको पद रिक्त भएको सूचना जारी गरेको हो।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेपछि कानुनी व्यवस्थाअनुसार पद रिक्त हुने व्यवस्था रहेको आयोगले जनाएको छ। आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएका उनीहरूले पछि अन्य दलमा प्रवेश गरेका थिए।
सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहितको विवरण आयोगमा प्राप्त भएपछि पद रिक्तसम्बन्धी प्रक्रिया अघि बढाइएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले उनीहरूको निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ।
जसमा कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी र खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई रहेका छन्। आयोगका अनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको छ। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।
मधेश प्रदेशः
धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत
विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल
कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान
मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरी
कोशी प्रदेशः
खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई
खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई
मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदार
बागमती प्रदेशः
दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का
जिरी नगरपालिका–३ का वडाध्यक्ष खेटराज घिमिरे
सुदूरपश्चिम प्रदेशः
कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी
हेर्नूहोस् आयोगको सूचनाः

.gif)

.png)

