पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

आरोही टोलीसँग सम्पर्क टुट्यो, मौसम अनुकूल भए हेलिकोप्टरमार्फत उद्धार गरिने


२०८३ श्रावण १५ शुक्रबार १०:११ बजे

काठमाडौं :  विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ।\

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसयता टोलीसँग सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन्।

टोलीमा अमेरिका, चीन र ओमानका एक–एक जना तथा नेपालका पाँच जना आरोही रहेका छन्। टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए।

पाकिस्तानका अधिकारीहरूका अनुसार मौसम अनुकूल बनेपछि हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त कठिन र जोखिमपूर्ण हिमाल मानिन्छ। पाकिस्तानको अल्पाइन क्लबले विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग निरन्तर समन्वयमा रही खोज तथा उद्धार अभियान तीव्र पारिएको जनाएको छ। हेलिकोप्टरसहित उपलब्ध सबै स्रोत–साधन यथाशीघ्र परिचालन गर्ने प्रयास भइरहेको क्लबले उल्लेख गरेको छ।

क्लबले सम्पर्कविहीन सबै आरोहीहरूको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए भने सन् २००९ मा रोयल मरीन बनेका थिए। सन् २०१२ मा सगरमाथा आधार शिविरको भ्रमणका क्रममा पर्वतारोहणप्रति आकर्षित भएका उनले त्यसपछि सगरमाथा आरोहणबाट आफ्नो पर्वतारोहण यात्रा सुरु गरेका थिए। सन् २०१९ मा विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर उनले विश्वव्यापी ख्याति कमाएका थिए।

अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन पर्वतारोहीहरू :-

  • नधिरा अहमद अब्दुल्लाह अल हार्थी — ओमान
  • सोहेल साखी — पाकिस्तान
  • वाङ जोङ — चीन
  • मालोरी गाइस — अमेरिका
  • निर्मल पुर्जा ‘निम्स दाई’ — नेपाल
  • पुरबहादुर गुरुङ ‘युक्‍ता’ — नेपाल
  • किली पेम्बा शेर्पा ‘किलु’ — नेपाल
  • निमा शेर्पा — नेपाल
  • नवाङ थिन्डु शेर्पा — नेपाल
  • ग्यालु शेर्पा — नेपाल

हिमपहिरोपछि उनीहरूसँग सम्पर्क टुटेको बताइएको छ। सम्पर्कविहीन पर्वतारोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानी सेना र सम्बन्धित निकायले संयुक्त रूपमा अभियान जारी राखेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७