काभ्रेमा बाढी : एक महिला बेपत्ता

काभ्रे । काभ्रेको पनौतीमा आज (सोमबार) बिहानदेखिको वर्षाले नगर तथा आसपासका क्षेत्रहरू प्रभावित भएका छन्।पनौती नगरपालिका–३ देखि १० सम्म र रोशी तथा तेमाल गाउँपालिका बाढी, डुबान र पहिरोबाट प्रभावित भएका हुन्।
बाढीका कारण पनौती–५ स्थित सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी छन् । प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको जनाइएको छ। पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीका अनुसार गत वर्षको असोजको बाढीले क्षतविक्षत बनाएको र अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप प्रणाली पुनः बगाएको छ। त्यस्तै, झण्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ।
वर्षाले खेतबारीमा रोपिएका आलु लगायतका बाली डुबानमा परेका छन्। यस्तै रोशी खोलामा पुनः बाढी आएपछि रोशी गाउँपालिका–६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप बगाएको छ। वर्षाको प्रभावले बीपी राजमार्ग समेत जोखिमपूर्ण भएको छ। स्थानीय प्रशासनले सवारी साधन सावधानीपूर्वक चलाउन आग्रह गरेको छ।