आलोचनाबाट बच्ने गरी सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन्। आजदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक प्रभाव परिरहेको बताए। उनले आलोचनाबाट बच्नेगरी सरकारले काम गरिरहेको उल्लेख गरे। ‘हामी आन्तरिक सुधारमा केन्द्रीत भएर लागिरहेका छौँ । बजेट कार्यान्वयनमा सुधार ल्याउने गरी छलफल भइरहेको छ। अझै केही महिना बाँकी रहेकाले यसमा ध्यान दिनुपर्ने आवश्यकता छ। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा थप सुधार आउने गरी काम गछौ’, उनले भने।
मुख्यमन्त्री कँडेलले हाल योजना बैङ्कमा आधारित रहेर योजना छनोट भइरहेको जानकारी दिए। उनले भने, ‘जसरी अहिले हामीले काम गरिरहेका छौँ, त्यसले आगामी बजेटमा सुधार गर्नेछ । विविध समस्याका बाबजुद सकारात्मक सन्देश दिनेगरी काम गरिरहेका छौँ । नकारात्मक कुराबाट बँच्नका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता छ।’