विश्व पौडेलविरुद्धको रिट दरपिठ

काठमाडौं । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए ।
तर उक्त रिट सर्वोच्च प्रशासनले आज (शुक्रबार) दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको हो ।
अधिवक्ताद्वय उप्रेती र थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध गत मंगलबार रिट दिएका थिए । पेस गरेको ४ दिनपछि सर्वोच्च प्रशासनले दर्ता अस्वीकार गरेको हो । तर निवेदकले भने प्रशासनको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिएका छन् ।