मूल्य अभिवृद्धि वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान
सरकारले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर सुधार गर्ने

काठमाडौं । गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तीन दशमलव २३ प्रतिशत रहेकामा चालु आवको यस्तो वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, ‘निर्माण क्षेत्रमा सुधार भएका र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी संकलनमा वृद्धि भएकाले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान छ । गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान शून्य दशमलव ४८ प्रतिशत रहेकामा चालु आवमा यस्तो योगदान शून्य दशमलव ४६ प्रतिशत रहने अनुमान छ ।’
विगत दुई आर्थिक वर्षमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि ऋणात्मक रहेकामा चालु आवमा धनात्मक रहने र वनस्पति तेल, प्लाइउड, प्लाष्टिकका पाइप ‘फिटिङ्ग’, पेय पदार्थ, साबुनलगायत वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धि, भटमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइलालगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारण उद्योग क्षेत्रको वृद्धिमा सुधार हुने सरकारले जनाएको छ।
सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्ष उत्पादनमूलक उद्योगको उत्पादन दुई दशमलव शून्य दुई प्रतिशतले ऋणात्मक रहेकामा चालु आवमा तीन दशमलव ७८ प्रतिशतले वृद्धि हुने आउँछ, पछिल्लो दशक उत्पादनमूलक उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर औसत दुई दशमलव ९४ प्रतिशत रहेको छ ।’
यसैगरी, गत आवमा कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान चार दशमलव ९३ प्रतिशत रहेकामा चालु आवमा चार दशमलव ९८ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधि विस्तार भएसँगै उत्पादनमूलक उद्योगको उत्पादन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले यस क्षेत्रको योगदान बढेको सरकारको भनाइ छ ।
सरकारले थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर सुधार गर्ने
सरकारले थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार गर्ने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/०८२’ मा भनिएको छ, ‘गत आर्थिक वर्ष यस क्षेत्रको वृद्धिदर ०.३६ प्रतिशतले सड्डुचन भएकामा चालु आर्थिक वर्षमा ३.३० प्रतिशतले वृद्धि हुने अनुमान छ ।’
सर्वेक्षणमा भनिएको छ, ‘गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको योगदान १४ प्रतिशत रहेकामा चालु आर्थिक वर्ष १४.५५ प्रतिशत रहने अनुमान छ । पछिल्लो दशक यस क्षेत्रको औसत वृद्धिदर ३.५० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा औसत योगदान १५.०७ प्रतिशत रहेको छ ।’
चालु आर्थिक वर्ष यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुने सरकारको अनुमान छ । ‘सवारी साधनको आयात र पर्यटक आगमनमा भएको वृद्धिका कारण चालु आवमा यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि ९.४५ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आवमा समेत उल्लेख्य वृद्धि भई यस्तो वृद्धिदर १३.४३ प्रतिशत रहेको थियो । विगत दश वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको औसत वृद्धिदर ४.६६ प्रतिशत रहेको छ’, सर्वेक्षणमा उल्लेख छ ।
चालु आवमा कुल गार्हस्थ्य उत्पादनमा आवास तथा भोजन सेवा क्षेत्रको योगदान २.४६ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान २.४० प्रतिशत थियो । पछिल्लो दशक यस क्षेत्रको योगदान वार्षिक औसत २ प्रतिशत र वृद्धिदर ५.८१ प्रतिशत छ ।
कम्प्युटर प्रोग्रामिङ तथा सूचना सेवाका क्रियाकलापमा भएको वृद्धि र इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चारमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा समेत सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने सरकारको अनुमान छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.९१ प्रतिशतले वृद्धि भएकामा चालु आवमा यस्तो वृद्धिदर ४.८१ प्रतिशत रहने अनुमान छ ।
चालु आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १.९४ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा समेत यस्तो योगदान १.९४ प्रतिशत रहेको थियो । पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत २.२० प्रतिशत र वृद्धिदर ४.८३ प्रतिशत रहेको छ ।