सचेत भएर बजेट ल्याइएको छ, कार्यान्वयनमा शंका गर्नु पर्दैन : अर्थमन्त्री


२०८२ जेठ १६ शुक्रबार ०७:५९ बजे

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको दावी गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए। आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ। विकासमा असीमित आकांक्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। मितव्ययिता कायम राख्दै चालु खर्च सन्तुलनमा राख्ने प्रयास सरकारले गरेको उनले बताए ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । बिहीबार ल्याएको बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताए । आगामी आवमा पुँजीगत खर्च बढाइएको उनले जानकारी दिए । बजेट कार्यान्वयनका लागि आर्थिक वर्षको सुरुसम्म नै कुर्नु नपर्ने गरी व्यवस्था गरिएको उनले बताए। आयोजना तयारीको काम आजै खरिद प्रक्रियामा जान सकिने व्यवस्था गरिएको समेत उनले बताए। २५ करोडभन्दा माथिका आयोजनाको ड्यासबोर्डमा राख्नुपर्ने व्यवस्था मिलाइएको उनले बताएका छन्। अनुदान लागतबारे सोच्नुपर्ने अवस्थामा अधिकतम सीमा ५० प्रतिशतको सीमा कायम गरिएको उनले बताए।

संघीय ढाँचामा सन्तुलिन बजेट बनाउन सकुन् भन्नेमा ध्यान दिइएको उनले बताए । वन क्षेत्रका जटिलता हटाउने प्रयास गरिएको समेत उनको दाबी छ। सामाजिक सुरक्षा खर्च थप व्यवस्थित गरिएको र पछाडि परेको समुदायलाई प्राथमिकता दिइएको बताए। भन्सार बिन्दुमा अग्रिम आयकर हटाइएको भन्दै उनले कर हट्दा र रहँदा राजस्वमा पर्ने प्रभावबारे विश्लेषण गरेर हटाइएको बताए। अबको ध्यान कार्यान्वयनमा जाने उनको भनाइ छ। यो बजेट कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार, निजी लगानी बढ्ने, रोजगारी बढ्ने, आयोजना समयमै सकिने, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने उनको दाबी छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७