निर्वाचनले मात्र वर्तमान संकट समाधान गर्न सक्दैन : घनश्याम भुसाल


२०८२ माघ १२ सोमबार १३:२५ बजे

काठमाडौँ : नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले हालको राजनीतिक अवस्था निर्वाचन सम्पन्न हुँदैमा सहज रूपमा समाधान नहुने बताएका छन्।

चुनावपछि पनि मुलुकले राजनीतिक र भूराजनीतिक दबाब सामना गर्नुपर्ने भएकाले नागरिकले अवस्था बुझेर सजगतापूर्वक र धैर्यका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

भिडियो सन्देशमार्फत भुसालले निर्वाचनपछि आन्तरिक शक्ति सन्तुलन र बाह्य प्रभावका कारण थप जटिलता आउन सक्ने उल्लेख गरेका छन् । उनले शान्तिपूर्ण रूपमा चुनौती सामना गर्न सक्ने सामाजिक र राजनीतिक वातावरण निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

भुसालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको घटनाक्रम स्मरण गर्दै स्थापित राजनीतिक दलप्रति असन्तुष्टि जनाउनेहरू र आफ्ना कमजोरी ढाकछोप गर्न पुनः निर्वाचनमार्फत जनमत प्रयोग गर्न खोज्ने प्रवृत्तिले समस्या झन् गहिरिएको बताएका छन् । भदौ २३ गतेको आन्दोलनका क्रममा आफू बानेश्वर पुगे पनि आन्दोलनको नेतृत्व अन्यत्रबाट भएको र त्यसकै परिणामस्वरूप भदौ २४ गते प्रधानमन्त्रीलाई पछि हट्नुपरेको उनको भनाइ छ।

उनले पुराना राजनीतिक शक्तिले आफ्नो अयोग्यता लुकाएर जनतालाई भ्रममा पार्दै पुनः सत्ता हात पार्ने प्रयासले मुलुकलाई निकास नदिने स्पष्ट पारेका छन्। भूराजनीतिक स्वार्थ बोकेका शक्तिहरूको हस्तक्षेप समेत बढेको उल्लेख गर्दै उनले मुलुकमा हिंसात्मक वा अराजक आन्दोलन नेपाली नागरिकको स्वाभाविक चाहना नभएको दाबी गरेका छन् । 

भुसालका अनुसार विगतमा सत्ताको सबै सुविधा र शक्ति हातमा हुँदासमेत तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचौलियातन्त्रविरुद्ध स्पष्ट संघर्ष गर्न नसक्दा ठूलो राजनीतिक क्षति व्यहोर्नुपरेको थियो । 

उनले वर्तमान राजनीतिक परिदृश्यमा ओली र प्रचण्ड प्रभावहीन बन्दै जाँदा विचार, सिद्धान्त, इतिहास र सामाजिक समझबाट टाढा रहेका नयाँ राजनीतिक पात्रहरू उदाएको बताएका छन् । यस्ता पात्रहरूको राजनीतिक अभिव्यक्तिमा सुशासन र कुशासनसम्बन्धी स्पष्ट दृष्टिकोण नदेखिएको उनको टिप्पणी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७