संसदीय समितिका सभापतिको निर्वाचन आज
काठमाडौं : संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन शुक्रबार हुँदैछ। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको छुट्टाछुट्टै बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। ती बैठकमार्फत सभापतिको चयन गरिनेछ ।
सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा दुई/दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समितिमा एकल उम्मेदवारी परेको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी उम्मेदवार छन्।
यस्तै, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्यव्यवस्था तथा सुशासन समितिमा हरि ढकालले उम्मेदवारी दिएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी उम्मेदवार छन् ।
सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन्। संयुक्ततर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ उम्मेदवार छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन र गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की र मदनकुमारी शाहको उम्मेदवारी परेको छ ।
.gif)

.png)

