सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन: पुरस्कार र दण्डको नीति कडाइका साथ लागु गर्नु
काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीमा पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्दै राष्ट्र, सङ्गठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मंगलबार महानिरीक्षक पौडेलले विभिन्न युनिटको कमाण्डमा खटी जान लागेका अधिकृतहरूलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट यस्तो निर्देशन दिएका हुन्। उनले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीले नतिजामुखी कार्य गरेमा राष्ट्र र सङ्गठनको नाम उच्च रहने भन्दै कमाण्डर र तल्लो तहका कर्मचारीबीचको सामिप्यता बढ्नुपर्नेमा जोड दिए।
महानिरीक्षक पौडेलले आफू मातहतका कर्मचारीको मनोबल उच्च राखी, समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताए। मातहत कर्मचारीका गुनासाहरूलाई अनिवार्य रूपमा 'चेन अफ कमाण्ड' भित्र ल्याउन निर्देशन दिँदै उनले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र उर्जाका साथ आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाहमा लाग्नुपर्ने कुरामा सचेत गराए।
विशेष गरी सीमा सुरक्षा र आर्थिक अनुशासनको विषयलाई उठाउँदै महानिरीक्षक पौडेलले राजश्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करीविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्। उनले नेपाल सरकारद्वारा प्रतिबन्धित वस्तुहरू सीमा नाकाबाट कुनै पनि हालतमा भित्रन नदिन सशस्त्र प्रहरी कर्मचारीहरू थप सक्रियता र चनाखो भएर लाग्नुपर्ने स्पष्ट पारेका छन्।
.gif)

.png)

