बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा युरोपेली संघको कडाइ
उमेरअनुसार फरक नियम
काठमाडौं : युरोपेली संघ (ईयू)ले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने योजना अघि सारेको छ। प्रस्तावित व्यवस्थाअनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइनेछ भने १३ देखि १५ वर्षसम्मका बालबालिकाले अभिभावकको निगरानीमा मात्रै सामाजिक सञ्जाल चलाउन पाउनेछन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयनले फ्रान्सको स्ट्रासबर्गमा युरोपेली संघका सांसदहरूलाई सम्बोधन गर्दै यस्तो योजना सार्वजनिक गरेकी हुन्। उनका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि अभिभावकले बनाउने र निगरानी गर्ने विशेष ‘मिनी अकाउन्ट’को व्यवस्था गरिनेछ। यस्ता खातामा सामाजिक सञ्जालका सीमित सुविधा मात्रै उपलब्ध हुनेछन् र दैनिक एक घण्टासम्म प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ।
१५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि भने सामाजिक सञ्जाल प्लेटफर्महरूले बालमैत्री तथा सुरक्षित डिजाइन अनिवार्य रूपमा अपनाउनुपर्ने प्रस्ताव छ। फोन डेर लेयनले ठूला प्रविधि कम्पनीको प्रभावलाई सीमित गर्न सकिने बताएकी छन्। उनका अनुसार सामाजिक सञ्जालका निरन्तर स्क्रोल गर्न प्रेरित गर्ने फिडले बालबालिकालाई लामो समयसम्म अनलाइन रहन आकर्षित गरिरहेको छ।
उनले युरोपका युवाहरूले दैनिक चारदेखि छ घण्टासम्म स्क्रिनमा बिताइरहेको बताउँदै अत्यधिक सामाजिक सञ्जाल प्रयोगले बालबालिकाको बाल्यकालमै असर पारिरहेको उल्लेख गरिन्। युरोपेली आयोगको प्रस्ताव कार्यान्वयनमा आएमा सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकाका लागि उमेरअनुसार फरक–फरक पहुँच र निगरानीको व्यवस्था हुनेछ। १३ वर्षमुनिका बालबालिकालाई पूर्ण प्रतिबन्ध, १३ देखि १५ वर्षसम्म अभिभावकीय निगरानी र १५ देखि १८ वर्षसम्म सुरक्षित डिजाइनको व्यवस्था प्रस्ताव गरिएको हो।
.gif)

.png)

