नाम-फोटो अंकित प्रचार सामग्रीमा रोक
सभापतिमा उम्मेदवारी शुल्क ४० हजार, महामन्त्रीमा ३० हजार
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिन निर्वाचन समितिले मनोनयन दस्तुर निर्धारण गरेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको मनोनयन दस्तुरसम्बन्धी सूचनाअनुसार सभापति पदका लागि ४० हजार रुपैयाँ दस्तुर तोकिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३०–३० हजार रुपैयाँ मनोनयन दस्तुर तिर्नुपर्नेछ। त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
मनोनयन दर्ता गर्दा उम्मेदवारले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको प्रभु बैंकमा रहेको खातामा तोकिएको दस्तुर जम्मा गरेको प्रमाण पेस गर्नुपर्नेछ। उम्मेदवारले फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएको प्रमाणपत्रसमेत मनोनयनपत्रसँग संलग्न गर्नुपर्ने समितिले जनाएको छ।
सभापतिका लागि १० प्रस्तावक र १० समर्थक
निर्वाचन समितिले विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि आवश्यक प्रस्तावक र समर्थकको संख्यासमेत तोकेको छ। सभापति पदका उम्मेदवारका लागि १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उनीहरूको नाम, ठेगाना, मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्नेछ। त्यस्तै पार्टीका विभिन्न समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिनेले ४ जना प्रस्तावक र ४ जना समर्थकको विवरण पेस गर्नुपर्नेछ। केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि भने ३ जना प्रस्तावक र ३ जना समर्थक आवश्यक पर्नेछ।
निर्वाचन समितिले आफू उम्मेदवार बनेको पदमा उम्मेदवारी दिने अर्को व्यक्तिको प्रस्तावक वा समर्थक बन्न नपाइने स्पष्ट गरेको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्ने उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसमेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
प्रचार सामग्रीमा पनि निर्वाचन समितिको कडाइ
मनोनयन दर्ता तथा निर्वाचन प्रचार–प्रसारका क्रममा उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न अंकित प्रचार सामग्री प्रयोग गर्नसमेत निर्वाचन समितिले रोक लगाएको छ। उम्मेदवार वा समर्थकले त्यस्ता फोटो वा नाम अंकित टोपी, क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेटलगायत सामग्री लगाउन वा प्रयोग गर्न नपाउने सूचनामा उल्लेख छ।
यद्यपि उम्मेदवारले आफ्नो उम्मेदवारी र आफूले उम्मेदवारी दिएको पदबारे सामान्य जानकारी दिने पर्चा तथा पम्प्लेट वितरण गर्न सक्नेछन्। मतदानस्थल आसपास फ्लेक्स प्रिन्ट राख्नसमेत निषेध गरिएको छ।
निर्वाचन समितिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ को दफा १७ मा उल्लेखित निर्वाचन आचारसंहितालाई सबै उम्मेदवार, प्रस्तावक, समर्थक तथा सम्बन्धित पक्षले अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ। सूचना निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्यसचिव राजु कुँवर र सदस्य सुजन ललचनले जारी गरेका हुन्।
.gif)

.png)


