वेस्ट इन्डिजका ब्याटर रदरफोर्ड सुदूरपश्चिममा
काठमाडौं : वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित छन्। मध्यक्रममा ब्याटिङ गर्ने उनी आवश्यकताअनुसार तीव्र गतिमा रन बनाउन र खेलको दिशा बदल्न सक्ने क्षमता राख्छन्।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च व्यक्तिगत स्कोर ८४ रन हो।
सबैखाले टी–२० क्रिकेटमा उनले २८३ खेल खेल्दै ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन्। उनको टी–२० क्रिकेटमा ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ।
रदरफोर्डले इन्डियन प्रिमियर लिग (आईपीएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेटजस्ता चर्चित फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा उनी टोलीमा थिए। त्यस्तै, सन् २०२०–२१ मा कराँची किङ्सले पीएसएल उपाधि जित्दा पनि उनी टोलीका सदस्य थिए।
आईपीएलमा उनले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २९१ रन बनाएका थिए। यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुको प्रतिनिधित्व गरेका थिए।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। अनुभवी तथा आक्रामक खेलाडीलाई टोलीमा आबद्ध गर्न पाउँदा उत्साहित रहेको बताउँदै उनले रदरफोर्डको अनुभवले यस सिजन टोलीको लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरे।
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्समा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले एनपीएल खेल्न, नेपाली समर्थकमाझ आफ्नो क्षमता देखाउन र टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्न आफू उत्साहित रहेको बताएका छन्।
रदरफोर्डको आगमनसँगै सुदूरपश्चिम रोयल्सले मध्यक्रमको ब्याटिङलाई थप आक्रामक बनाउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको अनुभव भएका उनको प्रदर्शन एनपीएलको तेस्रो संस्करणमा टोलीका लागि महत्त्वपूर्ण हुन सक्छ।
.gif)

.png)



