अमेरिकाले आक्रमण गरे खाडीका तेल र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी
काठमाडौं : इरानले अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सातवटासम्म देशका तेल प्रशोधन केन्द्र, समुद्रमुनिका सञ्चार केबल, तथ्यांक केन्द्र र कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले यस्तो चेतावनी दिएका हुन्। इरानी सञ्चारमाध्यमका अनुसार नयाँ आक्रमण भए इरानले आफ्नो जवाफी कारबाहीको दायरा थप विस्तार गर्ने संकेत दिएको छ।
इरान र अमेरिकाबीचको द्वन्द्व अन्त्य गर्न भएका वार्तामा संलग्न नेता मोहम्मद बाकर गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानमाथि पुनः आक्रमण गर्न सैद्धान्तिक रूपमा सहमत भएको दाबी गरेका छन्। यद्यपि, आक्रमण सफल हुने सुनिश्चितता उनीहरूले गर्न नसक्ने उनको भनाइ छ।
मोहम्मदीले आगामी युद्धलाई इरानले आफ्नो अस्तित्वमाथिकै खतरा मानेको बताएका छन्। दुई वर्षभित्र तेस्रो युद्धको अवस्था आउनु गम्भीर चुनौती भएको उल्लेख गर्दै उनले अबको रणनीतिमा कुनै सीमारेखा नरहने चेतावनी दिएका छन्। युद्ध शत्रुले अनुमान गरेभन्दा लामो समयसम्म चल्ने र फराकिलो क्षेत्रमा फैलिन सक्ने उनको भनाइ छ।
इरानले सम्भावित सैन्य लक्ष्यमा तेल पूर्वाधारसँगै डिजिटल सञ्चार सञ्जाल र कृत्रिम बुद्धिमत्तासम्बन्धी संरचनालाई पनि समेटेको छ। समुद्रमुनिका सञ्चार केबलमा क्षति पुगेमा क्षेत्रीय इन्टरनेट, वित्तीय कारोबार, विद्युतीय व्यापार र तथ्यांक भण्डारण सेवामा अवरोध आउन सक्ने जोखिम छ।
यसैबीच, अमेरिकी सञ्चारमाध्यमका समाचारअनुसार अमेरिका र इसराइलले इरानमाथि सम्भावित संयुक्त आक्रमणका लागि लक्ष्यहरूको सूची तयार पारेका छन्। सम्भावित कारबाहीमा इरानका क्षेप्यास्त्र केन्द्र, तेल पूर्वाधार र आणविक केन्द्रलाई निशाना बनाउन सकिने बताइएको छ। अमेरिकी मध्यावधि निर्वाचन नोभेम्बर ३ पछि यस्तो आक्रमण हुन सक्ने चर्चा पनि सार्वजनिक भएको छ। तर, आक्रमणको अन्तिम निर्णय भएको पुष्टि छैन।
तनाव बढिरहेका बेला इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सको नौसैनिक बलले हर्मुज जलडमरूमध्यमा चारवटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। समुद्री बारुदी सुरुङका कारण थप तीनवटा जहाजमा क्षति पुगेको पनि इरानको भनाइ छ। तर, ती दाबीको स्वतन्त्र पुष्टि भएको छैन।
अमेरिका र इसराइलले इरानमाथि पुनः आक्रमण गर्न सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३ अमेरिकी डलरभन्दा माथि पुगेको समाचारमा उल्लेख छ।
युद्धको सम्भावना बढ्दै जाँदा मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने तयारीसमेत भइरहेको छ। अमेरिका र इरानबीचको कूटनीतिक वार्ता निष्कर्षमा पुग्न नसकेमा ऊर्जा आपूर्ति, समुद्री व्यापार र विश्वव्यापी डिजिटल पूर्वाधारमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।
.gif)

.png)



