प्रहरीको स्वीप अपरेसन : २४ घण्टामा ७५ जना पक्राउ


२०८३ कार्तिक ११ मंगलबार १४:११ बजे
फाइल फोटो

काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानमा ७५ जना पक्राउ परेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको ‘स्वीप अपरेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 

यसरी पक्राउ पर्नेमा ६० जना पुरुष र १४ जना महिला छन्। प्रहरीले थप एक जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न विशेष प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए। 

प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र नागरिकको बढी आवतजावत हुने क्षेत्रलाई अभियानको मुख्य निशाना बनाएको थियो।

अभियानका क्रममा सार्वजनिक यातायात तथा अन्य सार्वजनिकस्थलमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना कसुरदार र विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादी पनि पक्राउ परेका छन्।

यसरी अदालतबाट सजाय तोकिएका तथा मुद्दामा फरार रहेका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने, फरार कसुरदार तथा प्रतिवादीलाई पक्राउ गर्ने र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७