गोलबजार नगरपालिकाका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ करोड ६० लाख बिगो मागदाबी


२०८३ कार्तिक १० मंगलबार १५:२३ बजे

सिरहा : सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाटबजारको ठेक्का तथा राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादवविरुद्ध मुद्दा दायर गरिएको हो। 

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाको वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व सङ्कलन गर्ने जिम्मेवारी ठेकेदार यादवलाई अमानतमा दिइएको थियो। 

उक्त प्रक्रियामा नगर कार्यपालिकाको निर्णय र प्रचलित कानुनी व्यवस्थाविपरीत राजस्व छुट दिइएको तथा सङ्कलन भएको रकममा अनियमितता गरिएको आयोगको आरोप छ।

नगरसभाबाट मात्रै दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको आयोगले जनाएको छ। 

त्यस्तै, अमानतमा सङ्कलन गर्नुपर्ने राजस्व ठेकेदारलाई दिइएको र ठेकेदारबाट असुल गर्नुपर्ने रकमसमेत असुल नगर्दा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुगेको आरोपपत्रमा उल्लेख छ।

आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत केसीविरुद्ध जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबी गरिएको छ।

त्यसैगरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत महतो र राजस्व शाखा प्रमुख सहनीविरुद्ध जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ।

ठेकेदार यादवविरुद्ध पनि एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचारबाट लाभ लिएको तथा गैरकानुनी कार्यमा संलग्न रहेको आरोपमा सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।

आयोगले ठेक्का व्यवस्थापन, कर छुट र राजस्व सङ्कलन प्रक्रियामा भएको भनिएको अनियमितताबाट सरकारी रकममा नोक्सानी पुगेको दाबी गर्दै कानुनी कारबाही अघि बढाएको हो।

मुद्दामा लगाइएका आरोप अदालतबाट पुष्टि हुन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७