अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर
रगतमा चिनीको मात्रा ३५ मा झर्यो
काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै २५औँ सत्याग्रहमा रहेका प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेर ३५ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको र मुटुको चालमा समेत गडबडी देखिएपछि उनको जीवन जोखिममा परेको चिकित्सकले बताएका छन्।
इलाम अस्पतालले आइतबार साँझ पत्रकार सम्मेलन गरी केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको जानकारी दिएको हो। उपचारमा संलग्न चिकित्सक डा. महेश आचार्यका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा निकै कम भएको छ।
सामान्यतया रगतमा ग्लुकोजको मात्रा ७० मिलिग्राम प्रतिडेसिलिटरभन्दा कम भएमा हाइपोग्लाइसेमिया भनिन्छ। केसीको ग्लुकोजको मात्रा भने ३५ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको छ। उनको पिसाबमा एसिटोनको मात्रा बढेको र रक्तचाप १००/६० रहेको चिकित्सकले बताएका छन्।
डा. आचार्यका अनुसार ग्लुकोजको मात्रा अत्यधिक घट्दा टाउको दुख्ने, पसिना आउने र मुटुको चाल अनियमित हुने समस्या देखिन सक्छ। केसीको मुटुको चालमा समेत गडबडी देखिएको उनले बताए।
‘स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उहाँको जीवन नै जोखिममा पर्ने अवस्था छ,’ डा. आचार्यले भने, ‘ग्लुकोजको मात्रा बढाउन नसके थप जटिलता आउन सक्छ।’
शरीरमा पानी चढाइरहे पनि केसीले ग्लुकोज लिन अस्वीकार गरिरहेका छन्। स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर चिकित्सकले उनलाई ग्लुकोज चढाउन आग्रह गरिरहेका छन्। आवश्यक उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशलाई समेत आग्रह गरिएको डा. आचार्यले बताए।
किन सत्याग्रहमा छन् केसी?
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि लामो समयदेखि अभियान चलाउँदै आएका केसीले सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको र चिकित्सा शिक्षा सञ्चालनमा न्यूनतम मापदण्डसमेत पालना नभएको भन्दै सत्याग्रह सुरु गरेका हुन्। सत्याग्रह थाल्नुअघि उनले आफ्ना माग सम्बोधन गर्न सरकारलाई समयसीमा दिएका थिए।
यसपटक उनको मुख्य असन्तुष्टि कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा आवश्यक पूर्वाधार र जनशक्ति पूरा नगरी चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको विषयमा छ।
चिकित्सा शिक्षा आयोगले गेटामा एमबीबीएसका लागि ५०, बीएससी नर्सिङका लागि २०, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीका लागि १० र बी अप्टोमेट्रीका लागि १० गरी कुल ९० सिट निर्धारण गरेको छ।
चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शास्त्रका विषय अध्यापन गराउन कम्तीमा ३०० शय्याको अस्पताल सञ्चालनमा हुनुपर्ने व्यवस्था छ। तर पूर्ण क्षमताको अस्पताल सञ्चालन नगरी पठनपाठन सुरु गर्न लागिएको भन्दै केसीले सिट निर्धारणको निर्णय खारेज गर्न माग गरेका छन्।
मापदण्डविपरीत विभिन्न मेडिकल कलेजमा वृद्धि गरिएका सिटसमेत खारेज गर्नुपर्ने उनको माग छ। आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र कानुनी मापदण्ड पूरा गरेर मात्रै गुणस्तरीय चिकित्सा शिक्षा सञ्चालन गर्नुपर्ने उनको अडान छ।
केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. देवेन्द्रबहादुर खत्री, गेटा विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशी र रजिस्ट्रार भीमबहादुर चन्दलाई निलम्बन गरी निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछि भएका निर्णयमाथि छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने उनको माग छ।
यसैगरी विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधान संशोधन गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण अघि बढाउन पनि उनले माग गरेका छन्।
केसीका माग सम्बोधन गर्न सरकारले यसअघि भएका सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरेको जनाएको छ। शिक्षा मन्त्रालयले १२ कात्तिकमा जारी गरेको विज्ञप्तिमा ११ साउनमा भएका सहमति कार्यान्वयनका लागि काम भइरहेको उल्लेख गरेको छ। तर सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै केसीले सत्याग्रहलाई निरन्तरता दिएका हुन्।
.gif)

.png)




