प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको कांग्रेसको निष्कर्ष, विशेष समिति गठन गर्न माग


२०८३ कार्तिक १६ सोमबार १३:०९ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

 

काठमाडौं : नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । 

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले त्यसका लागि तत्काल संसद् बैठक बोलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

समाचार संकलन र प्रकाशन गरेकै आधारमा पत्रकार पक्राउ गर्ने तथा सञ्चारगृहभित्रै प्रहरी परिचालन गर्ने कार्य विधिको शासन र प्रेस स्वतन्त्रता विपरीत भएको कांग्रेसको निष्कर्ष छ ।

बैठकपछि जारी विज्ञप्तिमा पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वेच्छाचारिताको उदाहरण भएको उल्लेख गरिएको छ ।

कांग्रेसले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको छ । छानबिनबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उसको माग छ ।

न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने र सरकारका सबै कामकारबाही कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ ।

निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको कांग्रेसको भनाइ छ ।

सरकारका पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठाएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले जनसरोकार र सुशासनका विषयमा सरकारलाई समर्थन गर्ने तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्तिपृथकीकरणका मूल्यमान्यता विपरीत सरकार अघि बढे विरोध गर्ने आफ्नो नीति रहेको पनि स्पष्ट पारेको छ ।

संसदीय दलको बैठकपछि कांग्रेसले दिउँसो १ बजे विपक्षी दलहरूको बैठकसमेत बोलाएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूसँग छलफल गरी पत्रकार धरपकड र न्यायालयसँग जोडिएका विषयमा साझा धारणा बनाएर अघि बढ्ने बताए ।

पत्रकार पक्राउ र न्यायालयका विषयमा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग रहेको उनले बताए ।

आचरणविपरीत काम गरेका न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा सोधिएको प्रश्नमा भने उनले सत्तारूढ दलको निर्णय पर्खिरहेको प्रतिक्रिया दिए ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७