ओलीदेखि वैद्य र विप्लवसम्मलाई एकतामा आउन प्रचण्डको आह्वान
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सहित सबै कम्युनिस्ट घटकलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
उनले देशको वस्तुगत आवश्यकता नै कम्युनिस्ट एकता भएको भन्दै सबै समूहलाई फराकिलो सोचका साथ एकतामा आउन आग्रह गरेका हुन् ।
उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट एकता आजको आवश्यकता बनिसकेको बताए । उनले पछिल्लो एकता घोषणा कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने अभियानको अर्को कडी भएको उल्लेख गर्दै यो अन्तिम एकता नभएको स्पष्ट पारे ।
‘विगतमा थुप्रै साना–ठूला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल गरेका थियौँ । त्यसैको नयाँ कडीका रूपमा आज यो एकता घोषणा भइरहेको छ’, उनले भने ‘यो अन्तिम होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ ।’
प्रचण्डले एमालेसहित विगतमा माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूकै भएको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई पनि एकतामा आउन आग्रह गरे ।
‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो । मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिस्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ,’ उनले भने ।
सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो बनाएर एकताका लागि अघि बढ्नुपर्ने प्रचण्डको भनाइ थियो ।
उनले विगतमा एमालेसँग भएको पार्टी एकतालाई समेत स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने बताए ।
.gif)

.png)




