गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन


२०८३ कार्तिक १८ बुधबार १६:४६ बजे
फाइल फोटो

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य छन् ।

सरकारले चिकित्सा शिक्षाको सुधार, सेवा प्रभावकारिता र सुशासनप्रति प्रतिबद्ध रहेको जनाउँदै केसीले उठाएका माग संवादमार्फत समाधान गर्न तयार रहेको बताएको छ । सरकारले सुधारका काम चरणबद्ध रूपमा अघि बढाइसकेको दाबीसमेत गरेको छ ।

केसीले उठाएका मागमध्ये गेटास्थित शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तथा नर्सिङलगायत कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार, प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा गरिएको सरकारको दाबी छ ।

चिकित्सा शिक्षा आयोगको अनुगमन प्रतिवेदनका आधारमा स्वीकृत मापदण्डभित्र रहेर मुख्यतः सरकारी कलेजमा सिट वृद्धि गरिएको पनि सरकारले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे छानबिन गर्नुपर्ने मागमा सरकारले सम्बन्धित पदाधिकारीमाथि आवश्यक छानबिन गर्ने जनाएको छ ।

त्यस्तै, शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गरिएको र थप क्षमता विस्तार गर्दै लैजाने सरकारको भनाइ छ ।

विश्वविद्यालयका पदाधिकारी नियुक्ति विवादरहित र दलीय प्रभावमुक्त बनाउन ऐन संशोधनको प्रक्रिया पनि सुरु गरिएको सरकारले जनाएको छ ।

छात्रवृत्ति कोटा र चिकित्सा शिक्षाको गुणस्तरसम्बन्धी मागमा भने प्रचलित ऐन तथा कानुनी मापदण्डअनुसार सार्वजनिक र निजी संस्थामा छात्रवृत्तिको व्यवस्था कार्यान्वयन भइरहेको सरकारको दाबी छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डका आधारमा कोटा निर्धारण र गुणस्तर कायम गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ साउन २७ को मन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन गरिएको सरकारले जनाएको छ । उक्त कार्यदलले प्रतिवेदनको मस्यौदा तयार गरिरहेको छ ।

यसैगरी, २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट र तोडफोडका घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको विषयमा सम्बन्धित निकायबाट प्रक्रिया अघि बढिरहेको सरकारको भनाइ छ ।

केसीले सुर्खेत, बुटवल र बर्दिवासमा चिकित्सा शिक्षा संस्था स्थापना गर्नुपर्ने माग उठाएका छन् ।

सरकारले ती स्थानमा संस्था स्थापनाको काम भइरहेको र थप बजेट व्यवस्थापनको प्रक्रिया अघि बढेको जनाएको छ । सबै प्रदेश र भूगोलमा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने प्रतिबद्धतासमेत सरकारले दोहोर्‍याएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७