चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालन
काठमाडौं : तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ ।
चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेले जानकारी दिए ।
तिहारका बेला देउसीभैलो, मेला तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक तथा लागूपदार्थ सेवन, होहल्ला र झैझगडा नियन्त्रण गर्न विशेष निगरानी बढाइएको उनले बताए । सम्भावित जोखिमयुक्त क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।
सुरक्षा निगरानीका लागि सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुर प्रयोग गरिने प्रहरीले जनाएको छ । भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ ।
विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेकप्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक जाँचको व्यवस्था पनि मिलाइएको छ ।
पटका, भुइँचम्पा, झिरझिरेलगायत विस्फोटक पदार्थको आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न सीमा तथा भन्सार क्षेत्रमा निगरानी कडा पारिएको प्रवक्ता काफ्लेले बताए । यस्ता गतिविधि शून्यमा झार्ने लक्ष्यसहित प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
‘तिहार हाम्रो सांस्कृतिक, सामाजिक सद्भाव र पारिवारिक एकताको पर्व हो । क्षणभरको मनोरञ्जनका लागि पटका पड्काउँदा कसैको जीवनभरको खुसी खोसिन सक्छ ।
त्यसैले पटका नपड्काउन र त्यस्ता सामग्री भित्रिएको वा प्रयोग भएको सूचना पाएमा प्रहरीको १०० नम्बरमा खबर गर्न अनुरोध गर्दछु,’ उनले भने ।
चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने तथा मिठाईलगायत खाद्यवस्तुमा मिसावट गर्ने गतिविधि नियन्त्रण गर्न पनि प्रहरीले निगरानी बढाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँगको सहकार्यमा संयुक्त बजार अनुगमन भइरहेको काफ्लेले जानकारी दिए ।
म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण, व्यापारिक केन्द्र र भण्डारण स्थलको निगरानी तथा फूलमाला र पूजासामग्री बिक्री हुने स्थानको व्यवस्थापनमा समेत ध्यान दिइएको प्रहरीले जनाएको छ ।
यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र र मादक तथा लागूपदार्थ सेवन गरे–नगरेको जाँच गरिनेछ ।
सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई प्राथमिकता दिइएको छ भने लामो दूरीका सवारीसाधनमा दुईजना चालक अनिवार्य राख्ने व्यवस्थाको समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।
यात्रुको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सीमावर्ती क्षेत्रबाट स्वदेश फर्किने नेपाली नागरिक ठगी तथा लुटपाटमा नपरून् भन्ने उद्देश्यले थप १०८ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताए ।
तिहारमा घर खाली गरेर बाहिर जाने नागरिकलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।
लामो समय घर खाली रहने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, नजिकको प्रहरी कार्यालय र छिमेकीलाई जानकारी गराउन, बहुमूल्य सामान तथा गरगहना घरमा नराख्न र सम्भव भएसम्म सीसीटीभी जडान गर्न प्रहरीले सुझाव दिएको छ ।
लक्ष्मीपूजाका दिन दियो तथा मैनबत्ती बाल्दा पर्दा, कपडा र आगो सल्किन सक्ने वस्तुबाट टाढा राख्न, बालबालिकालाई प्रज्वलनशील सामग्री नदिन तथा प्रयोगमा नरहेका विद्युतीय उपकरण बन्द गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
निगरानीबिना मैनबत्ती तथा दियो नछाड्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न सचेत गराइएको छ ।
आगलागी, दुर्घटना तथा अन्य विपद्का सम्भावित घटनालाई तत्काल सम्बोधन गर्न प्रहरीका शीघ्र प्रतिकार्य टोली (क्यूआरटी) तथा सीआरभी टोली तयारी अवस्थामा राखिएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको काफ्लेले बताए ।
उनले कुनै शङ्कास्पद गतिविधि, यात्राका क्रममा हुने दुर्व्यवहार, चोरी, लुटपाट वा अन्य आपराधिक गतिविधि देखिएमा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न आग्रह गरे ।
‘आफ्नो सानो असावधानीले आफूलाई मात्र नभई छरछिमेकीलाई समेत मानवीय र भौतिक क्षति हुन सक्छ । त्यसैले सबैले सावधानी अपनाएर अनुशासित र मर्यादित रूपमा चाडपर्व मनाऔँ । नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा छ,’ प्रवक्ता काफ्लेले भने ।
प्रहरीका अनुसार तिहारदेखि छठको भोलिपल्टसम्म विशेष सुरक्षा योजना लागू हुनेछ ।
.gif)

.png)




