प्रस्तावित न्यायाधीश पाण्डेलाई सांसद अर्यालको प्रश्न : एउटै प्रकरणमा फरक राय किन?
काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेसँग भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय दिएको विषयमा स्पष्टीकरण मागेकी छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले उच्च अदालत पाटनमा रहँदा पाण्डे र अर्का न्यायाधीश प्रकाश खरेलबीच पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा राय बाझिएको प्रसंग उठाएकी हुन्।
उक्त प्रकरणमा पाण्डेले खाणको प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै ३० लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए। तर अर्का न्यायाधीश खरेलले विभिन्न प्रमाणका आधारमा खाणलाई धरौटीमा छाड्न नमिल्ने भन्दै असहमति जनाएका थिए। पछि तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
अर्यालले एउटै मुद्दामा न्यायाधीशबीच फरक राय आउनुको आधार, न्यायिक आचरण, निष्पक्षता र जवाफदेहिताबारे पाण्डेसँग प्रश्न गरेकी छन्। उनले न्यायाधीशको व्यक्तिगत, पारिवारिक वा राजनीतिक स्वार्थ जोडिएका मुद्दामा निष्पक्षता कसरी कायम हुन्छ भन्ने विषयसमेत उठाइन्।
त्यस्तै, पाण्डेकी श्रीमती माया पाण्डेको नाममा रहेको जग्गा सरकारीकरण गर्ने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको प्रसंग उठाउँदै अर्यालले पाण्डे न्यायाधीश नियुक्त भएमा सम्भावित स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट जवाफ मागिन्।
बैठकमा अर्यालले न्यायपालिकाप्रतिको जनविश्वास अभिवृद्धि, सर्वसाधारणको न्यायमा पहुँच, मुद्दाको शीघ्र फैसला र फैसला कार्यान्वयनमा देखिएका समस्याबारे पनि पाण्डेको धारणा मागेकी छन्।
.gif)

.png)




