सर्लाहीमा घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार, अवस्था गम्भीर
सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि अज्ञात समूहले इँटा प्रहार गरेको छ ।
आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार घटना गएरातिको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा आएका अज्ञात व्यक्तिहरूले दम्पतीको टाउको र अनुहारमा इँटाले प्रहार गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले बताए ।
‘दम्पतीमाथि सुतिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । अनुसन्धानपछि मात्रै दम्पतीमाथि कसले र किन आक्रमण गरेको हो भन्ने खुल्ने छ,’ उनले भने ।
किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए ।
आक्रमणको कारण अहिलेसम्म खुल्न नसकेको हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले बताए ।
.gif)

.png)




