बाल संरक्षणमा परिवारकेन्द्रित नीति लागू गर्ने सरकारको तयारी
काठमाडौं : सरकारले बालबालिकालाई संस्थागत हेरचाहमा राख्नुभन्दा परिवारमै पुनर्मिलन गराउने तथा नातेदार वा संरक्षक परिवारमार्फत हेरचाहको व्यवस्था गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।
बाल संरक्षणलाई परिवारकेन्द्रित, अधिकारमा आधारित र तथ्याङ्कमा आधारित बनाउने उद्देश्यसहित सरकारले वैकल्पिक हेरचाहसम्बन्धी अन्तर्राष्ट्रिय वर्गीकरण प्रणाली (ICare Guideline) लाई नेपालको सन्दर्भअनुकूल बनाउने प्रक्रिया अघि बढाएको हो ।
यसका लागि उक्त प्रणालीलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा एकीकृत गर्ने तयारीसमेत भइरहेको छ । सरकारको दृष्टिकोणमा संस्थागत हेरचाह बालबालिकाका लागि अन्तिम विकल्पका रूपमा मात्र प्रयोग हुनुपर्छ ।
बालबालिकाको वैकल्पिक हेरचाहको अन्तर्राष्ट्रिय वर्गीकरणलाई नेपाली सन्दर्भमा अनुकूलन गर्ने विषयमा आयोजित राष्ट्रिय परामर्श कार्यशालामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको संरक्षण, सुरक्षा र अधिकार सुनिश्चित गर्नु राज्य, परिवार र समाजको साझा दायित्व भएको बताइन् ।
उनले प्रत्येक बालबालिकाले हिंसा, दुर्व्यवहार, शोषण तथा बेचबिखनबाट मुक्त भई सुरक्षित पारिवारिक वातावरणमा हुर्कन पाउनुपर्ने उल्लेख गरिन् । यसका लागि प्रभावकारी नीति, संस्थागत व्यवस्था र विश्वसनीय तथ्याङ्क प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।
वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक सङ्ख्या, अवस्था र उनीहरू परिवारबाट अलग हुनुपरेका कारण पहिचान नगरी प्रभावकारी योजना निर्माण तथा स्रोत विनियोजन गर्न नसकिने मन्त्री बादीले बताइन् ।
बाल संरक्षणका कार्यक्रम अनुमानका आधारमा नभई प्रमाण र तथ्याङ्कका आधारमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री बादीका अनुसार सरकारले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली तथा सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिपिआइएमएस/सिआइएमएस) लाई स्थानीयकरण गरी प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने कार्यलाई प्राथमिकता दिएको छ ।
यसबाट बालबालिकाको अवस्था पहिचान, संरक्षणको आवश्यकता मूल्याङ्कन र नीतिगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आइकेयर गाइडलाइन मार्फत बालगृह, पालनपोषणमा आधारित हेरचाह (फोस्टर केयर), नातेदारको हेरचाह, धर्मपुत्र तथा धर्मपुत्री र अनौपचारिक संरक्षणलगायत वैकल्पिक हेरचाहका विभिन्न स्वरूपलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिभाषित तथा वर्गीकरण गर्न सकिनेछ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि (यूएनसीआरसी) तथा बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गनिर्देशनप्रति प्रतिबद्धता जनाउँदै आएको सन्दर्भमा मन्त्री बादीले बालगृहको सञ्चालन तथा व्यवस्थापनमा पनि पारिवारिक पुनर्मिलन र परिवारमा आधारित हेरचाहलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
उनले आइकेयरका मानक सूचक निर्माण, विद्यमान कानुनी व्यवस्थाबीच सामञ्जस्यता, व्यक्तिगत घटना दर्ता तथा तथ्याङ्क प्रणाली (सिआरभिएस) र सिपिआइएमएस/सिआइएमएसको स्थानीयकरण एवं राष्ट्रिय तथ्याङ्क प्रणालीसँग एकीकरणका लागि स्पष्ट र कार्यान्वयनयोग्य मार्गचित्र तयार गर्न सम्बन्धित निकायलाई आग्रह गरिन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्राविधिक नेतृत्वमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, नागरिक समाज र विकास साझेदारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको पनि उनले बताइन् ।
कुनै पनि बालबालिका परिवारको संरक्षण र सुरक्षित वातावरणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
.gif)

.png)




