सौर्यको जहाज दुर्घटनाबारे बुझ्न घटनास्थल जाँदै प्रधानमन्त्री, गृहमन्त्रीले गरे अवलोकन
विमानस्थल कार्यालयले भन्यो–उड्ने बित्तिकै दाहिनेतिर मोडिएर दुर्घटना भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटनास्थलमा नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका छन् ।
बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।
घटनास्थलमा पुगे गृहमन्त्री लेखक, पर्यटनमन्त्री पाण्डेसहित सुरक्षा निकायका प्रमुखहरू
जहाज दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डे तथा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र एपीएफका महानिरीक्षक राजु अर्याल अवलोकन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । दुर्घटना र त्यसको कारण तथा राहतबारे बुझ्न मन्त्रीहरू र प्रहरी प्रमुखहरू त्यहाँ पुगेका हुन् । सौर्य जहाजमा सवारमध्ये १८ जनाको शव निकालिएको छ भने चालक मनिषरत्न शाक्यलाई उद्धार गरी अस्पताल गरिएको प्रहरीले जनाएको छ ।
विमानस्थल कार्यालयले भन्यो–उड्ने बित्तिकै दाहिनेतिर मोडिएर दुर्घटना भयो
सौर्य एयरलाइन्सको ९ एन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिसरभित्रै दुर्घटनाग्रस्त भएको छ । चालक दलका सदस्य र एयरलाइन्सका प्राविधिक कर्मचारीसहित १९ जना बोकेर पोखराका लागि उडेको विमान बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान उड्ने बित्तिकै दुर्घटनामा परेको थियो । ‘पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको,’ केन्द्रको विज्ञप्तिमा भनिएको छ । तत्कालै उद्धार कार्य शुरू गरी आगो नियन्त्रणमा लिइए पनि १८ जनाको शव संकलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको विज्ञप्तिमा उल्लेख छ । विमानमा सवार १९ मध्ये १८ जना नेपाली नागरिक हुन् ।