प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया भोलिबाट
काठमाडौं । सरकारले विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मंगलबार) बाट सुरु हुने भएको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको ३३ औं बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवन रहेको शंकर हलमा १२.१५ मा बस्नेछ ।
बैठकले प्रस्तावित राजदूतबारे उजुरी आह्वान गर्नेछ । प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ । सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो ।
नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन् । त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ । प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो ।