चाँदबाग स्कुललाई अतिक्रमित १० रोपनी जग्गा खाली गर्न कामपाको दुई दिने ‘अल्टिमेटम’
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित चाँदबाग स्कुललाई अतिक्रमण गरिएको १० रोपनी सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन ‘अल्टिमेटम’ दिएको छ ।
महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो । ‘दुई दिनसम्म जग्गा खाली गरिएन भने बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउँछ,’ महानगरका एक प्रहरी अधिकारीले भने ।
काठमाडौं महानगर–३ स्थित सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा दुई दिनसम्म खाली नगरे बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउने महानगरले चेतावनी दिएको छ । बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको श्रेस्ता उतारेर दिएको थियो । श्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो । तर, ९ चैत २०८० मा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो । तर, स्कूलले जग्गा खाली गरेको थिएन ।