माछापुच्छ्रे बैंकको मनायो २४औं वार्षिकोत्सव
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाइरहेको छ।
'उत्सव र सहयोग' भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रूपमा लिएको हो। यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर वार्षिकोत्सव मनाएको छ।
हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गर्दै आएको छ भने 'उत्सव र सहयोग' भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ।
जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ।
केही दिन अगाडि मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ।
बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केटहरू रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो।
यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ।यसैगरी बैंकले २४औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरू सञ्चालनमा ल्याएको छ।
बैंकले असोज १ देखि ३० गते सम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ एमबिएल एम स्मार्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ।
जस अन्तर्गत गत बैंकको डेबिट कार्ड लिने ग्राहक महानुभावहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शत प्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट दुई हजार चार सय मात्रमा प्रदान गरिरहेको छ।
साथै बैंकले मोबाइल बैंकिङ एमबिएल एम स्मार्ट सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।
बैंकले १६५ शाखा कार्यालयहरू २०१ एटिएम, १११ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टर मार्फत १६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।