म्याग्दीका ६ वडामा एकै पटक स्वास्थ्य चौकी भवन


२०८१ कार्तिक २ शुक्रबार ११:०२ बजे

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । सात वडा रहेको गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोट बाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन् ।

मालिका गाउँपालिका भौतिक तथा पूर्वाधार शाखाका सबइन्जिनियर दीपक सापकोटाका अनुसार सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले १८ करोड लागतमा छवटा वडामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । अघिल्ला दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको हो । केही समयअघि मात्र वडा नं ३ को डाँडागाउँमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको थियो ।

स्वास्थ्य चौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/८२ मा  रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो । आव २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्य चौकी छन् । गाउँपालिकाको वडा नं १ मा पर्ने निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको मालिका गाउँपालिकाका सूचना अधिकारी सोमबहादुर केसीले जानकारी दिए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७