डडेल्धुरामा किशोरी हत्या आरोपमा व्यापारी पक्राउ : पसल बाहिर शव राखेर तीन घण्टा खाँदै बसे रक्सी


२०८१ असोज २७ आइतबार १४:३९ बजे

डडेल्धुरा । डडेल्धुरामा हिजो मृत भेटिएकी किशोरीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको हो । 

भण्डारीले भट्टराईको हत्या गरेको स्वीकारेको डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । पोखरा बजारमा ‘भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ’ सञ्चालन गरिरहेका भण्डारीले पसलभित्र कोठामा आवेशमा आएर किशोरीको घाँटी थिचेर हत्या गरेको स्वीकारेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

तर उनले किशोरीको हत्या गर्नुको कारण भने अझै नखुलाएको प्रहरीले बताएको छ । स्थानीयले भने किशोरीको बलात्कारपछि हत्या गरिएको दावी गर्दै आएका छन् । ‘जबरजस्ती करणी गर्न खोज्दा किशोरीले अस्वीकार गरेपछि आवेशमा आएर हत्या गरेको पनि हुनसक्छ’, प्रनाउ श्रेष्ठले भने, ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, आएपछि खुल्छ ।’ किशोरीले आफू भारत जाने र केही पैसा चाहिएको भन्दै भण्डारीलाई २३ गते पनि भेटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।  

कस्तो थियो घटना ?

१४ वर्षीया किशोरी आरती भट्टराई भट्टराई २५ गते दिउँसोसम्म घरमै रहेको र ४ बजे गहुँ पिस्न स्थानीय पोखरा बजारको मिलमा गएकी थिइन् । बजारमा  उनले चप्पल पनि किनेको पाइएको छ । भण्डारीसँग किशोरीको एक बर्षअघिबाटै चिनजान रहेको पाइएको जानकारी दिंदै प्रनाउ श्रेष्ठले सुनाए, ‘किशोरी भण्डारीको पसलमा साँझ ५ बजेतिर पुगेको देखिन्छ, कुराकानीकै क्रममा आवेशमा हत्या भएको हुनसक्छ ।’ 

हत्यापछि ६ बजेतिर भण्डारीले आरतीको शव प्लाष्टिकको बोरामा सामान जस्तै प्याक गरी पसलको बाहिर राखेको पाइएको छ । । हतारमा पसल बन्द गरेर भाग्ने क्रममा उनको मोटरसाइकल पसल अगाडि नै ढलेपछि नजिकै रहेका सुरक्षाकर्मीले देखेर उठाउन सहयोग गरेका थिए । 

आफ्नै पसल अगाडि शव राखेका उनी त्यसपछि डडेल्धुरा सदरमुकाम हुँदै पोखराबाट १० किलोमिटर टाढाको स्याउले बजार पुगेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । पसलमा शव राखेर निस्किएका उनी त्यसपछि फेरि तीन किमी पछाडि नै फर्केर तुफानडाँडामा तीन घण्टा मदिरा पिएको देखिएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिएका छन् । 

९ बजेतिर फर्केर उनले आफ्नो पसल खोले । शव व्यवस्थापनका म १ प १४५४ नम्बरको आफ्नै मोटरसाइकलमा बाँधेर व्यवस्थापन गर्ने तयारीमा रहेका बेला कुकुर भुक्न थालेपछि भण्डारी अलमलमा पर्दा मोटरसाइकल नालीमा ढल्न पुग्यो । त्यसपछि पोखरा बजारको १० मिटर पूर्वतर्फ शव फालेर भण्डारी भागेको अनुसन्धानमा देखिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । तर, उनको टोपी र चप्पल भने शव फालेकै ठाउँमा छुट्न पुगेको थियो । शव नजिकै भेटिएको आरोपीको टोपी र चप्पलका कारण प्रहरीले दोस्रो दिन बिहान शौचालयमा लुकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७