साफ महिला च्याम्पियनसिप : साम्बा बिनै भुटानसँग खेल्दै नेपाल

आजै श्रीलंका र माल्दिभ्स भिड्दै


२०८१ कार्तिक २ शुक्रबार ११:०३ बजे

काठमाडौं । सातौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले आज (शुक्रबार) भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाल घरेलु मैदानमा सुख सुरुआत गर्ने दाउमा छ ।

त्यसअघि दिउँसो १ बजे हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्दै छन् । यी दुई टोलीबीचको खेल दशरथ रगंशालामा नै हुनेछ । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले हराउँदै विजयी सुरुआत गरेको थियो । भुटानविरुद्ध लगातार गोल गर्दै आएकी साम्बा फ्रेन्च महिला लिगमा व्यस्त रहेकाले उनले पहिलो खेल गुमाउने भएकी हुन् ।

यसअघि साफ च्याम्पियनसिपमा भुटानसँग खेलेको हरेक खेलमा सावित्राले गोल गरेकी थिइन् । नेपालका लागि ४६ खेल खेल्दै सावित्राले सर्वाधिक ५३ गोल गरेकी छन् । तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भए पनि पछिल्लो समय भुटानको फुटबलले प्रगति गरिरहेको छ । साम्बा नहुँदा नेपालका अन्य खेलाडीका लागि राम्रो प्रदर्शन गर्ने र गोल गर्ने अवसर हुनेछ ।

युएईको अबुधाबी कन्ट्री क्लबबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेलेर आएकी रेखा पौडेल र रश्मि कुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्ने सम्भावना छ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ टोली सहभागी छन् । ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् । नेपालले तेस्रो पटक साफ महिला च्याम्पियनसीप आयोजना गरेको हो । नेपालले यसअघि सन् २०१९ र सन् २०२२ मा पनि साफ महिला च्याम्पियनसीप आयोजना गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७