राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, जग्गा पनि अतिक्रमण


२०८१ कार्तिक २ शुक्रबार ११:०४ बजे

सप्तरी ।  राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो ।

कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताए । अतिक्रमित जग्गामा पक्की र फुसका गरी ८० वटा घर निर्माण भइसकेका छन् । अतिक्रमित जग्गा खाली गराउन कारागार प्रशासनले विभिन्न समयमा राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनले विगत १० वर्षदेखि ‘अतिक्रमित जग्गा खाली गर्ने’ सम्बन्धी ३५ र १५ दिने सूचना पटक पटक जारी गरे पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।

विसं २००८ मा निर्माण भएको राजविराज कारागार सरकारी उपेक्षाका कारण जीर्ण, लथालिङ्ग र असुरक्षित बन्दै गएको छ । एक सय २५ जना कैदी राख्ने क्षमताको सो कारागारमा हाल १४ महिलासहित चार सय ७६ कैदीबन्दी राखिएको जेलर अधिकारीको भनाइ छ । उनले भने, ‘एकातिर जीर्ण भवन अर्कातिर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी राख्नुपर्दा जोखिमसँगै निगरानी र व्यवस्थापन गर्न समस्या भएको छ ।’ उनका अनुसार पुरानो, जीर्ण र साँघुरो कारागारमा चौब्बर कैदीबन्दी कोचिएर राखिएको छ भने अर्कातिर अतिक्रमण, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी, जेनरेटर, इन्भर्टरलगायत भौतिक सामान समेत अभाव छ ।

कारागारमा दम, श्वासप्रश्वास, प्यारालाइसिस, उच्च रक्तचाप, मधुमेहलगायत रोगले पीडित कैदीबन्दीको संख्या ठूलै रहे पनि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको उनको भनाइ छ । कैदीबन्दी अहिलेसम्मकै उच्च संख्या भएको भए पनि दरबन्दीअनुसारको पदपूर्ति हुनसकेको छैन । क्षमताभन्दा धेरै कैदीबन्दी राख्दा समस्या भएपछि संख्या घटाउन अन्यत्रको कारागारमा सरुवाको प्रयास गरे पनि घरपायक मोहका कारण कैदीबन्दी अन्यत्रका कारागारमा जान नमानेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा चौब्बर कैदीबन्दी भएपछि शौच र नुहाउनेदेखि खाना पकाउन र खान पनि लाइन लाग्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७