एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने


२०८१ कार्तिक २८ बुधबार १३:०२ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ ।

समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको छ । त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइनेछ । करिब एक लाख ५० हजार सङ्गठित सदस्य रहेको पार्टीले सङ्गठन सुदृढीकरणमा अनुभव तथा योगदान गरेका नेता एवं कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न कमिटीलाई निर्देशन दिएको छ ।

सत्तारुढ दलहरूसँग गठबन्धन नगर्ने पार्टीले जनाएको छ । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ । आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७