उपप्रधानमन्त्री सिंहलाई राष्ट्रिय फोटो पत्रकार समूहको ध्यानाकर्षणपत्र
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेको छ । उक्त कार्यक्रममा समूहका नव निर्वाचित कार्यसमितिका सदस्यहरुलाई मन्त्री श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आइतबार संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले सिंहदरबारमा मन्त्री सिंहलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्राहलयका लागि आवश्यक पहल गराइ दिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यवसायिक तालिम दिन वार्षिक रुपमा बजेट र समय अनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।नव निर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्दै मन्त्री सिंहले पत्रकारितामा फोटोको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोगको पहल गर्ने बताएका छन् ।