एकै नगरका दुई युवती मृत्त भेटिए
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवती मृत्त भेटिएका छन् । प्रहरीले घोडाघोडी नगरपालिकाका दुई युवतीले झुण्डिएर आत्महत्या गरेको जनाएको छ । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलिसकेको छैन ।
घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा फेला परेकी छिन् । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउदले घर नजिक जङ्गल किनारमा घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । कक्षा–८ मा अध्ययनरत बोहरा तीन पटकसम्म फेल भएको परिवारबाट बुझिए पनि आत्महत्याको कारण भने खुल्न नसकेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीको भनाइ छ।
त्यस्तै घोडाघोडी नगरपालिका–५ वनखेत बस्ने २१ वर्षीय सबिता चौधरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । आफ्नै घरमा शनिबार दिउँसो झुण्डिएर आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ । चौधरीको आत्महत्याको कारण खुलेको छैन । विवाहित चौधरीको घर र माइती पक्षबाट पनि आत्महत्याको कारणबारे खुलेको छैन ।