छविलालको बयान : जीबीले पैसा जुटाए, रविले खर्च गरे
काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीले आर्थिक कारोबारको विषय सबै जीबी राई र रवि लामिछानेलाई थाहा भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा पूर्व डीआईजी जोशीले गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य आफू संलग्न नहुने बयान दिएका हुन् ।
‘गैरकानूनी तवरबाट रकम ल्याउनको लागि लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्युट गराउने जस्ता कार्य गरेका थिएनौ, बैकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिने अबस्था थियो’, उनले भनेका छन् । बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनै पनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् ।
गितेन्द्रबाबु (जीवी) राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान छ ।कर्मचारी र पत्रकारको छनोट, नियुक्ति, तलबको मापन लगायतको सम्पूर्ण कार्य रवि र जीवीबाट हुने गरेको जोशीले बयानमा बताएका छन् । उनले भने, ‘गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडमा सूर्यदर्शन सहकारीबाट सहकारी ऐन, नियम र सहकारीको सिद्दान्त विपरित रकम गएको सम्वन्धमा सम्पूर्ण जिम्मेवार गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा छ ।’