सुनको भाउ १५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । तीन दिन लगागार ३९ सयले बढेको सुनको भाउ आज (आइतबार) भने तोलामा एक हजार पाँच सयले घटेको छ । शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय सञ्चारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार नै मुल्य समायोजन हुने नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशतले बढेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेकाले नेपाली बजारमा सुनको भाउ कम बढेको देखिएको हो । सन् २०२५ मा पनि सुनको मूल्यवृद्धि कायम रहने विज्ञहरुको अनुमान छ । अमेरिकामा घट्दो ब्याजदरको असरले सुनको मूल्यवृद्धिमा टेवा पुग्ने इन्भेस्टिङ डटकमको अनुमान छ ।