माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
केन्द्रीय समिति बैठकमा २५ लाख खर्च अनुमान
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ । आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प ‘आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल जनाइएको छ । बैठकको सुरुवातमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य,३ आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ हजार २५ जना सहभागी हुनेछन् ।
केन्द्रीय समिति बैठकमा २५ लाख खर्च अनुमान
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी पुरा भएको छ । स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा आजदेखि सुरु हुने बैठकको तयारी पुरा भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठक आजदेखि सुरु भएर पुस २४ गते सम्पन्न हुने उपाध्यायले बताए । उनका अनुसार अहिले हल व्यवस्थापनको काम, नेताहरूको सिट प्यलानिङ भइरहेको उपाध्यायले बताए ।
बैठक सञ्चालनको मोडालिटी र एजेण्डाबारे अहिले स्थायी समिति बैठकमा छलफल भइरहेको छ । स्रोतका अनुसार ब्याङ्क्वेटको दैनिक हल भाडा एक लाख रहेको छ । खाजा, पानी, स्टेसनरी पार्टीले व्यहोर्नेछ भने अन्य केन्द्रीय सदस्यहरू आफैले व्यहोर्नुपर्ने छ । चार दिनसम्म लगभग लगभग कुल २२-२५ लाख खर्च हुने अनुमान गरिएको छ ।