साढे तीन लाख बढीले गरे चितवन महोत्सव अवलोकन 


२०८१ माघ ५ शनिबार १५:५९ बजे

चितवन । १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुस २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्नेछ ।

उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए । महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्छ । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए । त्यसैगरी, महोत्सव परिसरमा विविधि खेलकुदका गतिविधिहरुसमेत भइरहेको खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जन गर्नका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरुसमेत रहेका छन् । मनोरम नारायणीको दृश्य अवलोकन गर्दै विविध परिकार खान पाइने व्यवस्थासमेत महोत्सवमा रहेको छ । महोत्सवमा चितवनका स्थानीयसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरुको स्टल रहेका छन् । चिनियाँ प्रदर्शकहरुको पनि स्टल रहेको चितवन महोत्सवले चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेको छ । महोत्सवमा विदेशी पर्यटकहरुको पनि आगमन भइरहेको महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीले बताए ।

महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जस्तो सोचेर महोत्सव आयोजना गरिएको थियो त्यसरी नै महोत्सव चलिरहेको भन्दै खुसी व्यक्त गरे । महोत्सवमा सहभागिता जनाएकाहरुलाई एकमुष्ट धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले महोत्सवमा नआएकाहरुलाई एक पटक महोत्सव अवलोकन गरिदिन आह्वानसमेत गरेका छन् ।

महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७