मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक : अध्यक्ष महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् । आज (शनिबार) बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित सहिदहरूको शालिकमा श्रद्धा सुमन व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष महतोले भने, ‘मधेसले एकल नश्लीय औपनिवेशिक शासनविरुद्ध बिद्रोह गरेको हो । तर, उपनिवेशबाट मधेस अझै मुक्त हुन सकेको छैन । मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे ।’ महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता समेत औंल्याएका छन् । उनका अनुसार मधेस मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गरिनु पर्नेमा जोड दिए ।
महतोले मधेसी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिका लागि एकजुट भएर संघर्ष गर्न समेत सबैलाई अपिल गरे । उनले भने, ‘सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन । यो जनतालाई ढाँट्नु बाहेक अरु केही होइन । सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जली दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ ।’