प्रचण्ड पुग्दा खुलेन विराटनगर रङ्गशालाको गेट


२०८१ माघ ५ शनिबार १५:५९ बजे

मोरङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको बाहिरबाटै निरीक्षण गरेका छन् । 

विराटनगर महानगरपालिका–१९ स्थित क्रिकेट मैदानको प्रचण्डले निरीक्षण गर्ने कार्यक्रम शुक्रबार (हिजो) तय भए पनि क्रिकेट मैदानभित्र प्रवेश गर्ने मूल ढोकामा लगाइएको चाबी नखोलेपछि बाहिरबाटै निरीक्षण गरेर फर्किएका हुन् । उनले मैदानको बाहिरबाटै अवलोकन गरेका छन् । प्रचण्डको पूर्व निर्धारित कार्यक्रममा सम्बन्धित र सरोकारवालाले बेवास्ता गरेका कारण मैदान प्रवेश नगरी दाहालले ढोका बाहिरबाट निरीक्षण गर्नु परेको थियो ।  

दाहाल मैदान पुग्नुअघि नै माओवादीका स्थानीय नेताहरू फूलमालासहित पुगे पनि उनीहरूले मूल ढोकामा लगाइएको चाबी कोसँग छ भन्ने यकीन गरेनन् । माओवादीका स्थानीय नेताले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँग फोन सम्पर्क गर्दा मैदान रुग्न बसेको एक वृद्धसँग चाबी छ भनेका थिए । तर, उनीहरूले ति वृद्धसँग कुरा गर्दा चाबी क्रिकेटवालाहरूले लग्ने गरेको र आफूलाई नदिएको बताएपछि उनीहरू थप दबाबमा परेका थिए ।  

पूर्व प्रधानमन्त्री मैदान आइपुग्ने समय भइसक्दा समेत चाबी कोसँग छ भन्ने यकीन नभएपछि केही माओवादी नेताहरूले चाबी फोड्ने कुरा गरे पनि केहीले ‘अरूले लगाएको चाबी फोड्न हुँदैन । यो चाबी फोडेर अध्यक्ष कमरेडलाई भित्र लगियो भने पत्रकारहरूले फेरि समाचार बनाउने र अध्यक्षमाथि प्रश्न उठ्न सक्ने भएकाले बाहिरबाटै नै निरीक्षण र अवलोकन गराउनु पर्छ’ भने ।  

क्रिकेट मैदानको मूल ढोकामा लगाइएको चाबी केहीले फोड्ने र केहीले नफोड्ने कुरा भइरहँदा बिहान १० बजेको समयमा पूर्व प्रधानमन्त्री दाहाल मैदान पुगेका थिए ।  मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबु साद कुरिसीले पूर्व प्रधानमन्त्री दाहाल मैदानको निरीक्षण गर्न आउने कार्यक्रमबारे आफूलगायत क्रिकेट संघ वा अन्य क्रिकेटका व्यक्तिलाई जानकारी नभएको बताए । उनले भने, ‘पूर्व प्रधानमन्त्री मैदानमा आउने थाहा पाएको भए हामीहरू सबै जना बिहानै मैदान पुगेर चाबी खोल्ने मात्रै नभई हाम्रो समस्या प्रत्यक्ष रूपमा राख्न पाउने थियौं ।’ 

क्रिकेट रंगशाला पूर्व प्रधानमन्त्री दाहाल प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवअन्तर्गत बहुवर्षीय योजनामा राखेर बजेट समेत विनियोजन गरेका थिए । पूर्व प्रधानमन्त्री दाहालले मैदान बाहिरबाट निरीक्षण गरेपछि उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग रंगशालाका विषयमा जानकारी लिएको र डिपिआरलगायतका काम सम्पन्न भएको बताए । उनले चाँडै रंगशाला बन्ने समेत बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७