हात्ती आक्रमणबाट ज्यान गएपछि आक्रोशित स्थानीयले गरे राजमार्ग बन्द

रुपन्देही । बर्दियामा जंगली हात्तीको आक्रमणबाट स्थानीयको ज्यान गएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरीगाउँ–चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयबासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न उनीहरूको माग छ । अहिले लामो तथा छोटो दूरीको यातायात ठप्प भएको छ । सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन्। यसैबीच स्थानीयबासीसँग वार्ता गरी बाटो खुलाउन प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासीबीच वार्ता गरी राजमार्ग खुलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।
गए राति ठाकुरबाबा नगरपालिका–२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । राति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो ।