नेकपा एसले राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ घोषणा गर्दै

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ घोषणा गर्दैछ । यसका लागि शुक्रबार (भोलि) काठमाडौंको कार्की बैंङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । उक्त सम्मेलनमार्फत आफूहरूले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार सम्मेलनमा राजावादीहरू किन सलबलाए र त्यसमा जनताको उपस्थिति किन रह्यो भन्नेबारे समीक्षात्मक धारणा सार्वजनिकसँगै विशेष कार्यक्रम घोषणा हुनेछ । ‘राजावादीहरू किन सलबलाए र त्यहाँ थोरै भए पनि जनताको उपस्थिति किन देखियो। यसका लागि त सरकार र राजनीतिक दलहरूको पनि कमजोरी होला । यसबारे हामीले संस्थागत धारणा सार्वजनिक गर्नेछौँ र थप अगाडि कसरी अगाडि बढ्ने भन्नेबारे पनि भन्नेछौँ,’ अर्यालले भने ।
गत फागुन २५ राजावादी शक्तिहरूले शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरेका थिए । झण्डै एक महिना पोखरा बसेर काठमाडौं फर्किएका पूर्वराजाको पक्षमा नाराबाजी गर्नेहरूको संख्या हजारौंको संख्यामा थिए । यस घटनालाई लोकतन्त्रवादी एकीकृत समाजवादी जस्ता पार्टीहरूले मिहीन ढङ्गले हेरिरहेका छन् ।