कुलमानको ‘काउन्टर’ : विजुली वितरण बोलेर होइन, व्यवस्थापन गरेर देखाउने हो

‘कसैले भन्दैमा लोडसेडिङ हुँदैन’


२०८१ चैत ७ बिहीबार ०९:०६ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा कुनै पनि किसिमको लोडसेडिङ नहुने बताएका छन् । भारतबाट बिजुली आयात घट्दा समेत नेपालमा लोडसेडिङ हुने अवस्था नरहेको कार्यकारी निर्देशक घिसिङले दावी गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको बताएका थिए । सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गरेका थिए । कार्यकारी निर्देशक घिसिङले उद्योगका लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काले आरोप लगाएका थिए । 

नेपालमा लोडसेडिङ अहिले पनि भइरहेको छ भन्ने मन्त्री खड्को भनाइबारे जिज्ञासाबारे कार्यकारी निर्देशक घिसिङले त्यसमा सत्यता नभएको र हल्लाको पछि नलाग्न आग्रह गरे । उनले लोडसेडिङ मुक्त गर्न प्राधिकरणले आफ्नो क्षेत्रबाट सक्दो काम गरिरहेको जानकारी दिए । 

घिसिङले दिउँसोको समयमा भारतबाट अधिकतम मात्रामा बिजुली आयात भइरहेको र नेपालका अर्धजलाशययुक्त र जलाशययुक्त परियोजना दिउँसो बन्द गरेर पानी जम्मा गर्ने गरिएको बताए । दिउँसो जम्मा भएको पानीले रातको समयमा हुने बिजुलीको माग पूर्ति गर्ने गरेको घिसिङको भनाइ छ । यसअघि पनि आपूर्ति गरिएको भन्दा दुई गुणा माग आन्तरिक उत्पादनबाट नै धान्ने गरेको स्मरण गर्दै उनले अहिले राति भारतबाट बिजुली आपूर्ति नभएको समयमा त्यही आयोजनाबाट बिजुली उत्पादन गरेकोले लोडसेडिङ हुने अवस्था नरहेको दाबी गरे ।

विद्युत् सम्झौता गर्दा नै केही औद्योगिक ग्राहकहरूसँग रातको समयमा बिजुली आपूर्ति कटौती गर्ने सहमति भएको हुनाले त्यसलाई लोडसेडिङ भन्न नमिल्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । सबै उद्योग रातिमा सञ्चालन नहुने भन्दै उनीहरूलाई चौबीसै घण्टा बिजुली चाहिने अवस्था समेत नरहेको प्राधिकरणको भनाइ छ।

डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेको उद्योग र महसुल नतिर्ने ग्राहकको विद्युत लाइन काट्ने प्राधिकरणको तयारी रहेको कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङले अहिले लोडसेडिङ हुने अवस्था नरहेको तर माग बढ्दै जाँदा त्यस्तो अवस्था आए डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका तर बक्यौता नतिरेकाहरूको लाइन काटिने बताए ।

अबको एकदेखि डेढ वर्षमा देशलाई पूर्णरूपमा बिजुलीमा आत्मनिर्भर बनाउनेतर्फ काम भइरहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली चैत ३ गतेदेखि १२ घण्टा मात्रै आपूर्ति भइरहेको छ । यसअघि भारतबाट दैनिक १८ देखि २० घण्टासम्म बिजुली आपूर्ति हुँदै आएको थियो । अहिले नेपालमा दैनिक बिहान ६ देखि बेलुकी ६ बजेसम्म बिजुली आयात भइरहेको छ ।

यसअघि मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई ६ पटक स्पष्टीकरण सोधिसकेका छन् । विगतको भन्दा सस्तो दरमा बिजुली किन्ने सम्झौता भएको प्राधिकरणले स्पष्ट पारे पनि मन्त्रालय मातहतको विद्युत् विकास बोर्डले स्वीकृति नदिँदा यो सम्झौता नै संकटमा परेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । आउँदो चैत १९ (अप्रिल १) तारिखसम्म बोर्डले स्वीकृति नदिएको खण्डमा समझदारी नै रद्द हुनसक्ने घिसिङको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७