संघीय लोकतान्त्रिक गणतन्त्रमा राजा–महाराजा खोज्ने होइन : सञ्चारमन्त्री


२०८१ चैत ७ बिहीबार ०९:१७ बजे
फाइल फोटो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा राजामहाराजा खोज्नुको औचित्य नरहेको बताएका छन् । नेपाल चेपाङ संघले आज यहाँ आयोजना गरेको ‘चेपाङ स्वायत्त, विशेष र संरक्षित क्षेत्र घोषणा तथा चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयको छलफल कार्यक्रममा मन्त्री गुरुङले वर्तमान अवस्थामा राजतन्त्र खोज्नु निरर्थक भएको टिप्पणी गरे । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि संघीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै संघीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिए । आदिवासी जनजाति समुदायलगायत सीमान्तकृत वर्गलाई संघीयता महत्वपूर्ण उपलब्धि भएको उनको कथन थियो । ठूलो राजनीतिक संघर्ष पछि स्थापित वर्तमान शासन व्यवस्थाबाट लाभ लिन सीमान्तकृत समुदाय चनाखो हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए । 

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आदिवासी जनजातिका लागि महत्वपूर्ण उपलब्धि हो’, उनले भने, ‘हामी यो व्यवस्थाले दिएका अधिकारहरुबाट लाभ उठाउन अझै चुकेका छौँ ।’ राष्ट्रिय एकताको मूल आधार समावेशी र समतामूलक समाज भएको बताउँदै उनले समावेशी पद्धति कार्यान्वयनमा राज्य संवेदनशील हुनुपर्ने बताए । चेपाङ समुदायको संरक्षणमा जोड दिँदै उनले त्यस निम्ति नीतिगत व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरे ।  

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौडेलले तीन तहका सरकारले अब विकासको प्रारुप परिवर्तन गरेर समावेशी ढाँचालाई जोड दिनुपर्ने बताइन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष रमेश गुरुङले सीमान्तकृत समुदायभित्र चेपाङ समुदाय पनि पर्ने भएकाले सरकारले प्राविधिक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिए । संघका अध्यक्ष गोविन्दराम चेपाङले  २०३४ सालदेखि चेपाङ समुदायको विकासका लागि राज्यले सञ्चालन गर्दै आएको प्रजा विकास कार्यक्रम २०७४सालमा रोकिएको गुनासो गरे । ‘चेपाङ समुदायको विकासमा राज्यले बजेट छुट्याउनु पर्छ’, उनको माग थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७