आजभोलि किन हतपत्त सुनिंदैन भँगेराको चिरबिर ?

यस वर्षको भँगेरा दिवसको नारा : ‘म भँगेरालाई माया गर्छु’


२०८१ चैत ८ शुक्रबार ०६:२४ बजे

कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको संख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । ‘घरका आँगनमा खेल्दै रमाउँदै गरेका भँगेरा देखिने गरेका थिए । अहिले ती सबै विगत भइसके’, शुक्लाफाँटा नगरपालिका–३ का पहरू दहितले भने, ‘अब न भँगेराको चिरबिर आवाज सुनिन्छ, न त पहिले जस्तो भँगेरा आँगनमा राखेको बिस्कुन खान आउँछन् ।’ आक्कलझुक्कल मात्र भँगेरा देखिने गरेको उनी बताउँछन् ।

तीव्र रूपमा भइरहेको सहरीकरणलाई उनी भँगेरा विनासको कारण मान्छन् । भँगेरालाई गुँड लगाउन ठाउँ नै नभएपछि संख्या घट्दै जानु स्वाभाविक भएको उनको भनाइ छ । भँगेराको संख्या घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन् । चराविज्ञ हिरूलाल डगौराका अनुसार मोबाइलका टावरबाट निस्कने विकिरणले भँगेराको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्छ । प्रजनन क्षमतामा प्रतिकूल असर पर्छ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको समेत पाइएको छ । ‘ध्वनि प्रदूषणले पनि भँगेरालाई असर गर्छ’, उनले भने, ‘खेतबारीमा किसानले विषादिको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।’

खेतबारीमा हुने कीरा विषादीका कारण मर्ने गरेकाले भँगेरालाई आहारा पनि कम हँुदै गएको उनले बताए । काग, बिरालो, अन्य सिकारी चराले भँगेराको सिकार गर्ने भएकाले पनि संख्यामा कमी देखिएको उनको भनाइ छ । उनका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्वपूर्ण छ । भँगेरा जोगाउन घरघरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनुपर्छ । गुँड लगाउने वातावरण बनाउने कार्यसँगै छानामा दाना र पानीको व्यवस्था जस्ता ससाना कार्य गरे भँगेरालाई जोगाउन सक्छौँ ।

भँगेरालाई जोगाउन किसानले संयमतापूर्वक विषादीको प्रयोग गर्नुपर्ने उनी सल्लाह दिन्छन् । चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आइ लभ स्प्यारो) रहेको छ ।

चरा संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्थाले भँगेराबारे चेतना फैलाउने काम गरेका छन् । चराप्रेमीले आ–आफ्नो घर वरिपरि २० मिनेट भँगेरा गणनाको  काम गरेका छन् । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रूखमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताए । विद्यार्थीमाझ छलफल, अन्तरक्रियालगायत कार्यक्रम पनि गरिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७