दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ


२०८१ चैत ८ शुक्रबार ०२:५८ बजे

काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा दीपक मरिक डोमको घर भत्काएको अभियोगमा प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार उनीहरूलाई २ घण्टाअघि नियन्त्रणमा लिइएको हो । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ । पीडितबाट जाहेरी आए उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने डीआइजी आचार्यले जानकारी दिएका छन् । उनीहरूसँग सोधपुछ गर्ने काम भइरहेको र शनिबार पीडित परिवारसँग जाहेरी लिने उनले बताए ।

महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो । आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर पठाएर घर भत्काए । दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटो समेत ताछेर फालिएको थियो ।

आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ । ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइ दिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७