आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्दै, उच्च सुरक्षा सतर्कता

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, दुई समूहलाई भेट हुनै नदिने


२०८१ चैत १५ शुक्रबार ०७:५१ बजे
फाइल फोटो

काठमाडौं । आज (शुक्रबार) संघीय राजधानी काठमाडौँमा एक साथ दुई वटा प्रदर्शन हुँदैछन् । एउटा, गणतन्त्रवादीहरूको र अर्को राजावादीहरूको । गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ । पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन् ।

यो गणतन्त्रवादीहरूका लागि ‘सह्य’ विषय छैन । त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। तर, गणतन्त्रवादीहरूलाई राजावादीहरूले गणतन्त्रको विपक्षमा प्रदर्शन गरेर ‘काउन्टर’ दिन लागेका छन् । यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाललगायत दल तथा केही राजा र हिन्दूवादी संघसंस्थाहरूले पनि समर्थन जनाएका छन् ।

राजावादीहरूले स्वयं पूर्वराजा शाहलाई नै सहभागी गराउने प्रयत्न गरेका छन् । त्यसकै लागि राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन् । उनीहरूले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दैछन् । गणतन्त्रवादीहरूले भने भृकुटीमण्डपमा प्रदर्शन र आमसभा गर्दैछन् । त्यसको नेतृत्व गरेको समाजवादी मोर्चासम्बद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँबाट जुलुश निकालेर गर्दैछन् ।

यी दलहरूले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् । यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ। समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ । त्यसैले एउटालाई तीनकुने र अर्कोलाई भृकुटीमण्डप स्थान तोकिएको समितिले जनाएको छ। प्रदर्शन एकै दिन हुने हुँदा मुडभेठ हुन सक्ने भन्दै सुरक्षा समितिले विशेष रूपमा रणनीति बनाएको हो ।

शुक्रवार काठमाडौंमा हुने विभिन्न प्रदर्शनका क्रममा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ । पूर्वराजा पक्षीय दुर्गा प्रसाईहरूले चक्रपथ भित्र प्रवेश नपाउने र समाजवादी मोर्चाका प्रदर्शनकारीले चक्रपथ बाहिर निस्कन नपाउने गरी सुरक्षा योजना बनेको प्रहरी स्रोतले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार उच्च सतर्कताका साथ सुरक्षा योजना बनाइएको छ । त्यसअन्तर्गत उपत्यकाका विभिन्न भागमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।

नेपाल प्रहरीले रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्रै ३ हजार जनशक्ति तैनाथ गर्दैछ । यसबाहेक काठमाडौंमा अवस्थित विभिन्न गण र गुल्मबाट थप ११ सय १६ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी छ । प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए । वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन) का विषयमा शुक्रवार ११ बजेपछि योजना बनाइने भएको उनले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७