राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिंदै छन् ?
बिहानैदेखि काठमाडौंमा सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौंका दुई स्थानमा आज (शुक्रबार) छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन् । काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।
बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै समूहलाई ११ बजेपछि मात्रै कार्यक्रम सुरू गर्न भनेको छ।समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने तय भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिएका छन् । उनका अनुसार मोर्चामा रहेका चार दलले चार छुट्टाछुट्टै स्थानबाट र्याली निस्कनेछ ।
माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्याली निकाल्नेछ । माओवादी केन्द्रले निकाल्ने र्याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित सभा हुने स्थल पुग्नेछ । माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्याली निकाल्ने छ । उक्त र्याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुन्धाराबाट र्याली निकाल्नेछ । उनीहरूको र्याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने प्रवक्ता प्रकाण्डले बताए ।
नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्याली निकाल्ने छ । त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट नेकपा (एकीकृत समाजवादी)ले र्याली निकाल्ने छ । मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ । चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने नेता विश्वकर्माले जानकारी दिएका छन् ।
राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन् । सो प्रदर्शनलाई राप्रपा लगायत राजावादी दलहरूको समर्थन छ । प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्याली निकाल्ने तयारी गरेका छन् । दुई समूहले फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ ।
गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएको छ । सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन् । जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन् । दुई फरक फरक विचारधाराका समूहले एकै दिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्त एसएसपी शेखर खनालका अनुसार दुई पक्ष भेट हुने र मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै शुक्रबारको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुखको कमाण्डमा ३,५०० बढी प्रहरी परिचालन गरिने उनले बताए । ‘आवश्यकता अनुसार थप प्रहरी पनि परिचालन हुन्छ । पट्रोलिङ टोली, सादा पोसाकमा पनि प्रहरी खटिनेछन्,’ एसएपपी खनालले भने। भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल घुम्ने सडक बिहानैदेखि बन्द गरिएको छ।
विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ । दिउँसो पनि ट्राफिक व्यवस्थापनका लागि ९०० जना भन्दा बढी ट्राफिक प्रहरी खटाइने उनले बताए । आजको जुलुस र सभालाई दुवै पक्षले शक्ति प्रदर्शनको रुपमा लिएका छन् । त्यसैले सकेसम्म धेरै मानिस काठमाडौंमा उतार्ने तयारी छ । त्यसैले उनीहरुले विभिन्न जिल्लाबाट बसमार्फत् आ–आफ्ना समर्थकहरु ओसारेका छन् । समाजवादी मोर्चाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका एक नेताका अनुसार प्रत्येक प्रदेश कमिटीहरुलाई १०–१० हजारको दरले समर्थक भेला पार्न भनिएको छ । त्यस्तै जनवर्गीय संगठनहरुलाई पनि ३ देखि ५ हजार जनशक्ति उतार्न भनिएको छ ।
यसैगरी विप्लव नेतृत्वको नेकपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका पनि नेता–कार्यकर्ता र समर्थकहरु थपिँदा मानिसहरुको संख्या अझै बढ्ने अनुमान छ । कति मानिस उत्रिन्छन् भनेर अहिले नै भन्न त सकिँदैन तर माओवादी केन्द्र निकट कार्यकर्ताहरुले ‘भ्रष्टाचार र बेथितिका विरुद्ध डेढ लाख गणतन्त्रवादी एकै ठाउँ’ लेखिएको पोष्टर सामाजिक सञ्जालमा शेयर गरिरहेको देखिन्छ ।